एकदिन

घार भन्ने देशको 

उत्तर–दाहिने कुनाबाट

एउटा झुण्ड

‘सबै एक हौँ’ भनेर लेखिएको

ब्यानर बोकी महारानीकहाँ पुग्यो

झुण्डको नायिकेले महारानीलाई

आफूहरूले पहिलादेखि नै

घारको देखबहाल गरेकाले

आफू बस्ने क्षेत्रको नाम

‘चौकीदार’ राख्नुपर्ने

भन्दै ज्ञापन पत्र बुझाए ।


अर्को दिन

सधैँ महारानीको वरिपरी रहने

अनि निवासमा सँगै रहने

देख्दा अलि काला देखिने

अर्को झुण्डले

उसैगरी जुलुस निकालेर

महारानीलाई घेरे

र, ज्ञापन पत्र बुझाए—

हामी बस्ने क्षेत्रको नाम

‘भाले’ हुनुपर्छ ।


तेस्रो दिन

ती आन्दोलनकारी

दुवै मिलेर

आफूहरू बस्ने क्षेत्रको नाम

‘चौकीदार–भाले’ हुनुपर्ने

माग गरे ।


चौथो दिन

ती दुवै झुण्डको

आन्दोलन देखेर

कर्मीहरू निकै चिन्तित भए,

अनि आफ्नो काम छाडी

‘सबै एक हौँ’ भन्ने

लेखिएको ब्यानर बोकेर

महारानीको निवास घेरे 

र, उसैगरी ज्ञापन पत्र बुझाए—

चौकीदार र भालेसहितलाई

अटाउने नाम ‘मौरी’ हो ।


पाँचौँ दिन 

तिनै पक्षबीच छलफल भयो

तर आफ्नो मागबाट 

कोही पछि हटेनन्

बरु आन्दोलन अझ

सशक्त बनाउने उद्घोष गरे

अनि सबैले काम गर्नै छाडे ।


छैठौँ दिन

रानी अचानक

बिरामी परिन्,

त्यसै दिन उनले

प्राण त्यागिन्,

आन्दोलनकारीहरू

छिन्नभिन्न भए

त्यही मौकामा

अर्को राज्यबाट

अरिङ्गल नाम गरेको

राक्षस आएर

घार देशका जनतालाई भष्म पार्‍यो,

सबै ढुकुटी सखाप पार्‍यो

अनि आफ्नो राज्य

विस्तार गर्‍यो ।