Advertisement

Main Ad

शक्ति



अफिसमा बसेर जनताको काम नगरे पनि खरिदार लक्ष्मणप्रसाद बिगत २६ वर्षदेखि एकै कार्यालयमा कार्यरत थिए । उनले काम गर्ने कार्यालय आकर्षक मध्येमै पर्दथ्यो ।

उनको हाउभाउ र क्रियाकलाप देखेर उनका सहकर्मीहरू घरिघरि इर्ष्याको पिङ्ग खेल्दथे ।


“ होइन , खरदार लक्ष्मणको कहिल्यै सरुवा हुँदैन त ! हामीलाई त दुइ वर्ष नहुँदै डाँडो कटाउंछन् । ” एक सहकर्मी भन्छन् ।


“ म पनि छक्क परेको छु । उ काम पनि केही गर्दैन तैपनि हाकिमको प्यारो छ । ” अर्काले थपे ।


“ उसको ठूलै पावर छ जस्तो लाग्छ । एकै कार्यालयमा पेन्सन पकायो । ” फेरि अर्काले भने ।


“ यस्तो मालदार अफिसमा कोही टिक्छ यत्रो वर्ष ? उसले के गरेर टिकेको होला ? ’’ अर्काले पनि सवालको मुक्का चलाए ।


आज पनि चिया पसलमा गफको विषय लक्ष्मणप्रसाद नै भएका थिए ।


एकदिन मन्त्रालयका सचिव सहितको हाकिमहरूको टोली कार्यालयको निरीक्षण गर्न आइपुग्यो । सबै सतर्क भए ।


सचिवले सबैको अनुहार नियालेर सोधे, “ खोइ त लक्ष्मण खरदार ? मैले कतै पनि देखिनँ उनलाई ! उनी नभए त म आउनुको के अर्थ भो र ! ”


लक्ष्मणको खोजीमा दुई तीन जना कार्यालय सहयोगीहरूलाई चारैतिर दौडाइयो । आधा घण्टापछि लक्ष्मणप्रसाद आफैं आइपुगे ।


एकपटक धनुष्टंकार दण्डवत गरेर उनी के हराएका थिए, नगद सहितको कोसेलीको पोको सचिवको बिलासी जीपको डिकीमा थन्क्याएर हत्केलामा खैनी माड्दै हाकिमहरूको सामुन्ने खडा भए । लक्ष्मणले बनाएको खैनी आफ्नो ओठभित्र घुसारेर सचिवले आफ्ना सहकर्मी हाकिमहरूलाई हेर्दै भने , “खैनीको त उस्ताद हो लक्ष्मणप्रसाद । यस्तो इमान्दार कर्मचारी पाउन गारो छ । यस वर्षको उत्कृष्ट निजामती पुरष्कार यिनैलाई दिनुपर्छ ।”


बागमती –११, कर्मैया, सर्लाही

Post a Comment

0 Comments