‘ऊ..., आयो आयो, बज्यै माछा आयो’ भनेको हिजो जस्तो लाग्छ मलाई । धमिराको गोलाको टुक्रा हुङमा पोखरीमा लाउँदा तछाडमछाड गर्दै माछा बाहिर आउँथे । मानिसहरू तिनका रमिता गर्थे । त्यै पोखरीमा नुहाउँथे । नुहाएर त्यै पोखरी माथिको ठूलो लम्पसार परेको ढुङ्गालाई अँगालो मारेर घाम ताप्थे । कसैले त दिनै कटाउँथे । पछि ढुङ्गामुनि देवीथान बसाइयो । त्यसपछि नुहाउन र घाम ताप्न छाडे । थाहा छ तपाईँलाई ? नभनी कसरी थाहा हुनु हगि ! अँ, म पनि बज्यैसँग सानो हुँदा पोखरीमा गएर आमालाई समेत घण्टौँ बिर्सन्थेँ ।
दिनले फराकिलो बाटो बनाउँदै गयो । समयले त्यो दिनको निरन्तर गन्ती गर्दै गयो । अनि, मेरा पनि कपाल उबेलाकी मेरी बज्यैकै जस्तै फाट्टफुट्ट सेता भए । बज्यैसँग हुङमा पोखरीमा गएर रमाएको दिन पनि आज समयले बिस वर्ष भयो भन्दै छ । अब फेरि त्यहाँ बज्यैसँग माछा हेर्ने समय जति बोलाउँदा ’नि फर्केर आउँदैन । हो, धेरै समय बिते । समयसँगै धेरै वर्षाद् बिते । धेरै हिउँद बिते । अनि समयको वेगसँगै पोखरीका छेउछाउ घरहरू बन्न थाले । डोजरले गाउँका भित्ताहरू कोतरेर गाडी हिँड्ने बाटो बनायो । अझ पक्की घरहरू पनि थपिदै गए । रूखका बस्तीमा मान्छेको बस्ती बसाइयो । बिस्तारै रूख हेर्नकै लागि पनि कयौँ घण्टाको बाटो हिँड्नुपर्ने हुन थाल्यो । गाडीमा जाँदा दुई घण्टा लाग्न थाल्यो ।
यो समयको दिन गन्तीसँगै हुङमा पोखरीमा खोपिल्टो मात्र बाँकी रह्यो । पानी बालुवा खन्याएझैँ स्याप्प सुक्यो । देवीथानमा ठुलो मन्दिर त बन्यो । तर त्यो खोपिल्टोमा पशु वध गर्न थालियो । माछाहरू खेल्ने, रमाउने अनि मानिसहरू नुहाउने ठाउँमा झिँगाहरू रमाउन थाले । ठूलो जमात् जमाउन थाले । र मन्दिरका वरिपरी लम्पसार परेर घाम ताप्न थाले । पहिले मान्छेहरू पोखरीमा नुहाएर घाम त्यही मन्दिर माथिको ढुङ्गामा ताप्थे । तर पछि पशुका रगतमा डुबुल्कि मारेर झिँगाहरू मन्दिर वरपर घाम ताप्न थालेका थिए । अझै बस्ती बढ्ने क्रम रोकिएन । देशभरिका मान्छेहरू बसाइँ सरेर आउन थाले । विदेशीहरू पनि आए । पशु वधको विरुद्ध वकालत गर्न स्थानीयलाई प्रशिक्षण दिए । गाउँमा बिस्तारै येशुका गीतहरू मण्डली बनाएर गाउन थालिए । गाउँको रूप रङ नमिलेको पेन्टिङ जस्तै रङ्गिन हुन थाल्यो । बिहानै चराहरूको चिरबिर हल्ला गाडीको हर्नले पूरै प्रतिस्थापन ग¥यो । अनि गाउँ सहरमा परिणत भयो ।
एक दिनको कुरा हो । म आमासँग मन्दिर गएको थिएँ । आमाले बुढेसकालमा स्वस्थानीको व्रत लिनुभा’थ्यो । आमासँगै थुप्रै महिलाहरूले व्रत लिएका रै’छन् । त्यसैले पर्यटन विकास समितिले एक महिना पशु वधमा रोक लगाई पहिलेको पोखरी भएको खोपिल्टो सफा गरेर प्लास्टिक बिछ्याई पानी भरेको रै’छ । समितिले विज्ञप्ती निकाल्यो– ‘करिब पाँच सय व्रतालु महिलाले पुण्य प्राप्त गर्नेछन् ।’ आमा पनि औधि खुसी हुनुभो’ । धेरैपछि पोखरीमा स्नान गर्न पाएकामा धेरै महिला, आमाहरू खुसी भए । पर्यटन विकास समितिका अध्यक्ष पनि एक महिनासम्म पोखरी नसुकेको देखेर दङ्ग थिए ।



0 Comments