माने कान्छी बाले डोली चढाएर लान्छु
नत्र भने तिमीलाई भगाएर लान्छु ।
तिम्रो धन, जागिर पनि छैन भने मलाई
दौलत हैन माया दिन्छु भनि फकाएर लान्छु ।
जति गर्दा भन्दा पनि नमानेमा तिम्रा बाले
तन्त्रमन्त्र फुकी मोहनी लगाएर लान्छु ।
छोडिसके दोहोरी र रोदी घर सबले अब
उस्तै परे बार र डिस्को नचाएर लान्छु ।
राजी खुशी हुँदै तिमी मेरो साथमा आए
सयौँ जन्तीसँगै हात समाएर लान्छु ।
(पहिलो पटक कपन बानेश्वर राष्ट्रिय साप्ताहिक पत्रिकामा प्रकाशित)



0 Comments