यलाखोम । किरात राई बान्तावाखिमको केन्द्रीय कार्यालय रहने भवन इटहरीमा निर्माण गरिने भएको छ । किरात राई बान्तावाखिम केन्द्रीय कार्यसमितिले इटहरीमा जग्गा खरिद तथा बान्तावाखिम भवन निर्माणार्थ अभियान सुरु गरेको हो ।
शनिबार किरात राई बान्तावाखिम यलाखोम कार्यसमितिको नियमित बैठकमा बोल्दै किरात राई बान्तावाखिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातले किरात राईहरू छरिदै गइरहेका बेला भावनात्मक एकता गर्न पनि भवनको आवश्यकता परेको बताए । ‘किरात राईहरूको बाहुल्यता १ नम्बर प्रदेश क्षेत्रमै छ’, उनले भने, ‘बान्तावाभाषीहरूको पायक पर्ने इटहरी वा धरान नै हो । त्यसैले सबैको केन्द्विन्दु त्यहीँ हो, जसले भावनात्मक एकता पनि गर्छ ।’
किरात राई बान्तावाखिम यलाखोम कार्यसमितिका संरक्षक/अभिभावक एमबीई कुल बहादुर राईले सामाजिक कार्य गर्नका लागि चेतना अभिवृद्धि गरी दृढ संकल्पका साथ लाग्न सुझाव दिए । उनले हरेक महिना निश्चित लक्ष्य निर्धारण गरेर काम वा सहयोग गरे जीवनपर्यन्त निरन्तरता दिन सकिने बताए । त्यस्तै सल्लाहकार अधिवक्ता तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किवाङहाङ राईले किरात राई बान्तावाखिम भवन निर्माणका लागि राज्यसँग पहल गर्नुपर्ने सुझाव दिए । ‘राज्यले राज्यभित्रका सम्पूर्ण समुदायको संरक्षण गर्ने दायित्व लिनुपर्छ’, उनले भने, ‘बान्तावाखिम भवन निर्माणका लागि पनि राज्य तहमा पहल गर्नुपर्छ ।’
बैठकले यलाखोम कार्यसमिति बुङ्वाखा मासिक पत्रिकाको १५ औँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने १५ औँ बान्तावा राष्ट्रिय कविता प्रतियोगिताको सहआयोजक रहने बुङ्वाखाको प्रस्तावलाई पनि स्विकृत गरेको छ ।




0 Comments