वरिष्ठ गायक/संगीतकार जीतेन राई चार दशकदेखि नेपाली मौलिक गीत–संगीतमा सक्रिय छन्। उनका ‘साउने भेल उर्लेर आउँदा’, ‘वरैको छायाँले’, ‘मालिंगो काटी’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्। राई किरात सभ्यताका नेपाली मौलिक बाजाका धुन गीतमा संयोजन गरी सांस्कृतिक चेत उजागर गर्ने अभियानमा छन्।
गाईगोठमा बास
आठ सन्तानमध्ये तेस्रो सन्तानका रूपमा २०१४ सालमा पाँचथरको साविकको फलैँचा गाविस (हाल याङ्वारक गाउँपालिका)मा जन्मिएका हुन्, जीतेन राई। उनका बुबाले ‘इस्ट इन्डिया कम्पनी’को लाहुरे भएर बर्माको लडाइँ लडेका थिए। तर, जागिर बीचैमा छाडे। त्यसपछि परिवारको सामान्य कृषक जिन्दगी बित्न थाल्यो। उनी पनि त्यसकै हिस्सा भए। चार/पाँच वर्षको उमेरदेखि जंगलको गाईगोठमा गाईसँगै रात र दिन कटाउन थाले।
गाउँका दुईचार गोठ मिलेर जंगल जान्थे। हिउँद महिनामा गाउँमा घाँस नपाइने भएकाले लेकको फाँटिलो जंगलमा गोठ बसाउनुपथ्र्यो। ‘एक्लै जंगलमा गोठ बसाउनु अप्ठ्यारो हुन्थ्यो,’ राई सम्झन्छन्, ‘त्यही भएर छिमेकीसँग मिसाएर एउटै गोठ बनाइन्थ्यो।’ एउटै गोठ बनाएपछि घरबाट रासन लान पनि सजिलो हुन्थ्यो। रासन सकिँदा घरबाट ल्याउन गोठमा पालो गर्न मिल्थ्यो।
१३ वर्षको उमेरसम्म उनले यसै गरी जीवन बिताए। त्यो बेलाको बजार सिक्किम थियो। बजार एक बिहानको बाटो थियो। नुन, कपडा, फलामलगायत सामान त्यहीँबाट ल्याउँथे। कपडा भने धेरैजसो उनले आमाले बुनिदिएकै खाँडी लगाउँथे। कहिलेकाहीँ सिक्किमबाट किन्ने कपडालाई त्यो बेला फलाटिन भनिन्थ्यो। उनी सम्झन्छन्, ‘हरियो र रातो कलरको लुगा उताबाट ल्याइन्थ्यो।’
खरीपाटीमा पढाइ
जंगलको गोठमा बाससँगै २०२२ सालमा खरिपाटीमा उनको पढाइ सुरु भयो। ब्रिटिस शिक्षाबाट प्रभावित उनका बुबाको अगुवाइमा २०२१ सालमा गाउँमै स्कुल खुल्यो। त्यो बेला लेख्ने सिसाकलम, कपी अनि किताबजस्ता शैक्षिक सामग्री किन्न गाह्रो थियो। भन्छन्, ‘सायद पहुँचले भ्याएन होला।’ अहिले सुन्दा अचम्म लाग्न सक्छ तर त्यो बेला खरिढुंगाले ध्वाँसोले लिपेको काठको कालोपाटीमा लेख्थे। त्यहाँ नेपाली कखरा र सामान्य गन्ती अनि जोड–घटाउ सिकाइन्थ्यो।
गाउँमा स्कुल खुले पनि पढाउने शिक्षक थिएन। तर, दार्जिलिङमा सात कक्षा पढेकी उनकै देमा (ठूली आमा) थिइन्। उनै देमा स्कुलको शिक्षिका भइन्। शिक्षिकालाई शुल्क तिर्नुपथ्र्याे। पैसा तिर्न नसक्नेले त्यस बराबरको अन्न दिन्थे।
त्यहाँ शिशु कक्षादेखि पढाइ हुन्थ्यो। हरेक वर्ष परीक्षामा सामेल भएपछि कक्षा चढाइन्थ्यो। उनी भन्छन्, ‘हाम्रो गुरुआमा इन्डियामा पढेकोले परीक्षालाई ‘इम्तिहान’ भनेर जानियो। इम्तिहानमा सामेल भएपछि क्लास चढाइन्थ्यो।’ उनले त्यो स्कुलमा तीन कक्षासम्म पढे। त्यसपछि पढाइमा ठूलो अल्पविराम लाग्यो। करिब १०÷१२ वर्षपछि २०३६ सालदेखि मधेशमा फेरि आठ कक्षाबाट सिर्जना आदर्श स्कुल शिवगञ्ज झापामा पढ्न सुरु गरे।
चामलको भात खाने सपना
अहिले जस्तो गाउँमा सुविधा थिएन। पूरै गाउँ कृषिमा निर्भर थियो। तैपनि धान भने उत्पादन हुँदैनथ्यो। चाडबाडका बेला आमाले अउलदेखि धान ल्याउँथिन्। उनी भन्छन्, ‘आमाले अउलदेखि सायद एकदुई पाथी धान ल्याउनुहुन्थ्यो अनि ओख्लीमा कुटेर सानो भड्डु भाँडामा पकाउनुहुन्थ्यो।’ उनलाई पाक्दै गरेको भात हेर्न मात्रै पनि मजा लाग्थ्यो।
वर्षको दुई पटक चाहिँ चामल आवश्यक पथ्र्यो– साम्खा (पितृ कार्य) गर्दा। तर, त्यति बेला अमृतसरह पूजा प्रसादका रूपमा बाँडिन्थ्यो। चामलको भात खाने अवसर चाडबाडका बेला हुन्थ्यो। तर, पनि पेटभरि खान पाउँदैनथे। त्यो बेला चामलको भातलाई ‘जाउलो’ भनेर मात्र चिन्थे। भात भनेको मकैको च्याख्ला हो भन्ने बुझ्थे। ‘सबैले जाउलोलाई तिहुन चाहिँदैन भन्थे,’ उनी भावुक हुँदै सम्झन्छन्, ‘साह्रै मीठो हुन्थ्यो, निस्तै पनि खाइन्थ्यो।’ त्यस्तै पाहुना आएको बेला उनलाई खुशीले छोप्थ्यो। भन्छन्, ‘खै आमाले कसरी टार्नुहुन्थ्यो तर हामीलाई मीठोमसिनो खान पाइने भएर पाहुना सधैँ आउन जस्तो लाग्थ्यो।’
२०२७ सालमा झापामा झोरा फाँडेर पाखे धान फल्ने खेत जोहो भयो। उनी धानको भात खाने उत्कण्ठासँगै ठूलो ढाकर बोकेर नौ दिन हिँडेर त्यहाँ पुगे। खुशीको सञ्चार भयो। तर, धान फलाउन सजिलो थिएन। पाँचथरभन्दा अझ संघर्षका चाङ लागे। तैपनि जाउलो खाने सपना भने विपनामा परिणत भयो।
संगीत र हवाईजहाज यात्रा
अर्को सपना थियो, हवाईजहाज चढ्ने। हुन त उनलाई हवाईजहाज चढ्नै पाइन्छ भन्ने लागेको थिएन। ‘जहाज भनेको ठूलो मान्छेले मात्रै चढ्छन्’ भन्ने लाग्थ्यो। उनी रोमाञ्चक हुँदै बाल्यकाल सम्झन्छन्, ‘जहाजको आवाज आयो भने खाँदै गरेको गाँस छोडेर आँखाले भ्याउञ्जेल हेथ्र्यौं। त्यस्तो आकाशमा उड्ने जहाजमा राजा र ठूलो मान्छे मात्रै चढ्छन् भन्ने किंवदन्ती नै थियो।’ जब उनी २०४० सालमा जहाज चढे कल्पनामा रहेको ठूलो मान्छे आपूm नै भएको अनुभूति भयो। त्यसले भावुक गीत जन्मायो— ‘उड्दै आयो हवाईजहाज, जहाजैमा उडूँझैँ लाग्छ नि’ त्यही साल रेडियो नेपालमा स्वर परीक्षा दिए र पास भए। त्यसपछि उनको औपचारिक सांगीतिक यात्रा सुरु भयो। तर, यसअघि रत्न रेकर्डिङ स्टुडियोमा गीत भने रेकर्ड गराइसकेका थिए।
उनले संगीतको औपचारिक कक्षा लिएनन्। तर, अरूलाई भने सिकाउँथे। पीसीएल सकेर २०४० सालताका नै धरानमा रहेको पूर्वाञ्चल दृष्टिविहीन विद्यालयमा संगीत शिक्षक नियुक्त भए, उनी। त्यसबेला तलब चार सय रुपैयाँ थियो। पहिलो पटक तलब लिएर काम गरिरहेका थिए। ‘त्यसअघि धरानमै ‘भाते ट्युसन’ चाहिँ पढाउँथेँ,’ उनी भन्छन्, ‘लाहुरेहरूका छोराछोरीलाई पढाएबापत बिहान–बेलुकाको खाना खान्थँे। महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न र होस्टेल निःशुल्क पाए पनि खानाको जोहो भने त्यही ‘भाते ट्युसन’ बाट हुन्थ्यो।’
उनी सानैदेखि प्रतिभावान् थिए। झापा झरेपछि आफ्नो प्रतिभा अझ तिखार्ने मौका पाए। त्यहाँ ‘चारपाते क्लब’ खोलेर सचिवको जिम्मेवारी लिए। ‘यताउता अलि मिलाएर बोल्ने भएर होला मलाई नै सचिव बनाए,’ उनी भन्छन्, ‘अरूभन्दा सायद जान्ने पनि थिएँ हुँला।’ साहित्य संगीतमा लाग्ने प्रेरणा त्यस्तै क्लबहरू हुन् भन्ने उनलाई लाग्छ। उनले क्लबमै हुँदा केही वाद्य यन्त्र बजाउन सिके। ‘गिटार महँगो थियो,’ उनी भन्छन्, ‘किन्न सक्ने हैसियत थिएन।’ संयोग जु¥यो। दार्जिलिङतिरका व्यक्ति कहिलेकाहीँ गिटार लिएर झापा आउँथे। उनीबाटै गिटार बजाउन सिके। ‘दुःख गरेर बल्लतल्ल सिलाएको जिन्स कपडा जस्तोको जाकेट बन्धकी राखेर डेढ महिना गिटार सिकेँ,’ उनी सम्झन्छन्, ‘त्यो जाकेट पच नै भयो, उसले फिर्ता दिएन।’
रेडियो नेपालको जागिर
२०४४ सालमा राजा वीरेन्द्र एक कार्यक्रममा धनकुटा पुगेका थिए। राई आफ्ना विद्यार्थी लिएर राजालाई गीत सुनाउन त्यहाँ पुगे। विद्यार्थीले गीत गाए– ‘देश पेवा हुँदैन’ तर त्यस बेला यस्तो गीत गाउँदा राजाको विरोधी भइन्थ्यो। गीतलाई बक्सिस त मिल्यो। तर, उनलाई राजा विरोधीको बिल्ला भिडाइयो। भन्छन्, ‘अञ्चालाधीशको गोली ठोक्ने आदेश सुराक थाहा पाएपछि त्यहाँबाट रातारात भागेँ।’
उनी भागेर काठमाडौँ आए। ललितपुर थैवको एउटा स्कुलमा छद्म भएर फेरि पढाउन थाले। तर, पूरा तलब पाएनन्। त्यसपछि उनले ठमेलको ‘पुमरी कल्चर सेन्टर’ मा ‘म्युजिक डाइरेक्टर’ भएर जागिर खाए। त्यसैताका रेडियो नेपालमा गीत रेकर्ड गराए। नाम जीतेन्द्र थियो। पक्राउ पर्ने डरले त्यही बेला उनले छद्म नाम राखे– ‘जीतेन’। जुन नामबाट प्रसिद्धि कमाए। २०४६ सालको जनआन्दोलनपछि बिस्तारै परिस्थिति सहज बन्दै गयो। रेडियो नेपाल आउजाउ बाक्लिँदै गयो।
त्यहाँ वर्षमा दुई वटासम्म गीत रेकर्ड गर्न पाउँथे। गीतको पारिश्रमिक २० रुपैयाँ थियो। त्यससँगै रेडियो नेपालमै म्युजिक डाइरेक्टरको रूपमा अस्थायी जागिर गर्न थाले। उनी भन्छन्, ‘लगभग १०/१२ वर्ष रेडियो नेपालमा म्युजिक डाइरेक्टर भएर काम गरेँ।’ त्यहीँ हुँदा उनले यलम्बर बाजा, मुर्चुंगा, बिनायोजस्ता किरात सभ्यताका मौलिक बाजाहरू गीतमा संयोजन गर्न थाले।
(प्रयुक्त सामग्री बिहीबार, १४ चैत २०७५ मा ‘अन्नपूर्ण सम्पूर्ण’ साप्ताहिक पत्रिकामा छापिएको हो। त्यसको अनलाइन संस्करण १५ गते शुक्रबार प्रकाशित भएको थियो।)
0 Comments